काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साँझ ललितपुरको जावलाखेलस्थित एक आइटी कम्पनीमा छापा मार्दै झन्डै ५० जनालाई नियन्त्रणमा लिएको छ । अफिसको काम सुरु भएको केही घण्टामै सीआईबीको टोलीले छापा मारेको हो ।
पक्राउ परेकामध्ये ४२ जनालाई दैनिकी हाजिरी जमानीमा छोडिएको र ८ जनाविरुद्ध मुद्दा चलाइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका दुई चिनियाँ, एक फिलिपिनो र ५ जना नेपालीलाई अभौतिक मुद्रा कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीका अनुसार, गिरोहले मासिक ३ लाख ५० हजार रुपैयाँमा घर भाडामा लिएर आइटी कम्पनी सञ्चालन गर्दै आएको थियो । यहाँ रातको समयमा मात्रै काम सुरु हुने गरेको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा यो गिरोहले सामाजिक सञ्जालमार्फत साथी बनाएर अन्ततः ठग्ने गरेको देखिएको छ । प्रवक्ता बोगटीले बताए अनुसार, गिरोहका सदस्यहरू दुबईमा पनि ठगीका आरोपमा पक्राउ परेर डिपोर्ट गरिएका थिए । नेपालमा आएर पुनः यही धन्धा सुरु गरेको देखिन्छ ।
‘दुबईमा काम गर्न नपाएपछि नेपालमा आएर यही क्रियाकलाप सुरु गरेको देखिन्छ,’ उनले भने । प्रहरीले उक्त कम्पनीमा ५ जना महिलासहित ४७ जना कर्मचारीलाई काममा राखेको थियो । साथै, ठूलो संख्यामा विभिन्न डिभाइसहरू पनि बरामद गरेको छ ।




