काठमाडौं । सरकारले दशैं-तिहार लगायतका चाडपर्वलाई ध्यानमा राख्दै आजदेखि सहुलियत पसलहरू सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री स्तरीय निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सुरू गरेको हो । यसका लागि सरकारले ३ करोड रुपैयाँको बजेट छुट्याएको छ ।
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसलका बिक्री कक्षहरू सञ्चालनमा छन् । यी पसलहरूबाट अनलाइन अर्डरको माध्यमबाट घरमै डेलिभरीको सुविधा पनि उपलब्ध छ । सुपथ मूल्य पसलहरूले विभिन्न खाद्यान्न वस्तुहरू बिक्री गर्नेछन्, जसमा ग्राहकले विशेष छुट पाउनेछन् । कम्पनीका अनुसार विभिन्न चामल र दालमा प्रति केजी ५ रुपैयाँ छुट हुनेछ ।
यसैगरी, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी/लिटर ७ रुपैयाँ छुट प्रदान गरिनेछ । कर्णाली सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी लगायतका वस्तुहरूमा प्रति केजी ७ रुपैयाँ छुट हुनेछ भने जिउँदो खसीबोका, च्यांग्रा र डीडीसी घ्यूमा प्रति केजी १० रुपैयाँ छुट पाइनेछ । आवश्यकता अनुसार खाद्यान्न वस्तुहरूको सहज आपूर्ति सुनिश्चित गर्न कम्पनीले ठेक्का प्रणालीको व्यवस्था पनि गरिसकेको छ ।




