झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका छन् । मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान कम्प्लेक्सको अगाडि उनलाई पक्राउ गरिएको हो ।
घुस रकम लिँदै गर्दा ओलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । अर्जुन पाण्डे, पार्टीको प्रदेश कमिटी सदस्यका अनुसार, ओलीले जमीनको घर जग्गा र बाटोको सिफारिस गरिदिएको बापत घुस रकम असुल गरेका थिए ।
पीडितले पार्टीलाई यस विषयमा जानकारी गराएपछि ओलीलाई योजना अनुसार रकम लिँदा लिँदै पक्राउ गरिएको हो । वडाध्यक्ष ओली अहिले इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।
डिएसपी प्रकाश विष्टका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ओलीलाई इप्रकामा राखिएको छ । उनले थप जानकारी दिंदै भने कि प्रहरीले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई सूचित गरिसकेको छ ।




