सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका २ इनरवास्थित धान खेतमा ४ वर्षीय बालकको शव फेला परेको छ । स्थानीय रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको धानखेतमा शव फेला परेको हो ।
सोमबार साँझ साढे ७ बजे घरबाटै हराएका बालकको शव मंगलबार धान खेतमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको ५ सय मिटर टाढा धान खेतमा बालकको शव फेला परेको हो ।
बालकमा बाहिरी चोट पटक नदेखिएको र बाहिरबाट तालिम प्राप्त कुकर झिकाएर घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । बालकको सम्भावित मृत्यु नभएको र घटना शंकास्पद देखिएकोमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




