काठमाडौं । गर्भ बसेको ५ महिनामा अल्ट्रा साउण्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ । यो राष्ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ। तीन महिनामा अल्ट्रासाउण्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ । त्यो बेला बच्चा ३ देखि ५ सेन्टिमिटरसम्मको हुन्छ ।
तीन महिनाको अल्ट्रासाउण्डमा मस्तिस्कमा देखिने समस्या पत्ता लगाउन सकिन्छ । त्यस्तै पेटमा हर्निया हुने मुखमा खुँडे हुनेजस्ता समस्या थाहा पाउन सकिन्छ । यसका लागि उच्चस्तरीय प्रविधि भएको अल्ट्रासाउण्ड मेसिन चाहिन्छ ।
पाँच महिनामा गरिने अल्ट्रासाउण्डमा भने धेरै कुरा पत्ता लाग्छ । यो बेलामा अनुहार, फोक्सो अस्वभाविक जस्ता समस्या पत्ता लगाउन सकिन्छ । कतिपय गम्भीर प्रकृतिको समस्या देखियो भने समस्याको आधारमा चिकित्सकले गर्भको बच्चा राख्ने नराख्ने सुझाव दिन्छन् । गर्भ रहने बेलामा आमाको स्वास्थ्य अवस्थाले पनि बच्चामा समस्या देखिन्छ ।
जस्तै, आमालाई गर्भवती अवस्थामा रूबेला भए कान र आँखाको समस्या हुन सक्छ । जसबाट बच्चा सुस्त मनस्थिति पनि हुन सक्छ । वातावरणीय प्रभाव र वंशाणुगत समस्याले पनि यस्तो समस्या हुन सक्छ ।
आमा र बुवामा कुनै समस्या हुन सक्ने खतरा थियो भने त्यो बच्चामा समेत पर्न सक्छ । तर पेटमा रहेको बच्चामा समस्या देखिनुको कारण ६० प्रतिशत भन्दा माथि थाहा नहुन सक्छ ।






