चितवन । चितवन माडी नगरपालिका ७ देवेन्द्रपुरमा दसैँको माहोलमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । ७१ वर्षीया विष्णुमाया रानाभाटको शव असोज २१ गते घर नजिकको भीरमा फेला परेको थियो । प्रारम्भमा भीरबाट खसेर मृत्यु भएको अनुमान गरिएपनि अनुसन्धानले यो घटना हत्या भएको पुष्टि गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विष्णुमायाकी सासू नाताका टीकाराम रानाभाटलाई पक्राउ गरेको छ । ६२ वर्षीय टीकारामले प्रहरी समक्ष आफ्नो अपराध स्वीकार गर्दै रक्सी सेवनको अवस्थामा सासूसँगको झगडापछि हँसियाले घाँटी रेटेर हत्या गरेको बयान दिएका छन् ।
हत्या पश्चात् घटनालाई आत्महत्या वा दुर्घटनाको रूपमा प्रस्तुत गर्न रानाभाटको शव भीरमा फालिएको थियो । तर, शवको पोष्टमार्टम रिपोर्टले घाँटीमा गहिरो चोटको कारणले मृत्यु भएको देखाएपछि प्रहरीले घटना लुकाउन गरिएको प्रपञ्च पत्ता लगायो ।
प्रहरीले घटनास्थलबाट केही सुनका गहना पनि बरामद गरेको छ, जुन टीकारामले हत्या गरेपछि लुकाएका थिए । अनुसन्धानले हत्या भएको दिन टीकाराम रानाभाटले रक्सी सेवन गरेको र विवादको क्रममा हत्या गरेको तथ्य उजागर गरेको छ ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालले घटना बारे थप अनुसन्धान भइरहेको र अन्य संदिग्ध पक्षहरूको समेत खोजी भइरहेको जानकारी दिए ।




