झापा । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका ५ स्थित रवि पेट्रोल पम्पनजिक शनिबार दिउँसो भएको बस दुर्घटनामा मोटरसाइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
दमकबाट बिर्तामोडतर्फ गइरहेको प्रदेश नम्बर १-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोरङको केराबारी गाउँपालिका ७ निवासी ५५ वर्षीय मोटरसाइकल चालक पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करपछिको क्षणमा, गम्भीर घाइते मुकारुङलाई बसले पुन: किचेर मारेको दृश्य देखेका स्थानीयबासी आक्रोशित बनेर बसमा ढुंगामुढा गरे र आगजनी समेत गरेका थिए । यसबाट बसमा सामान्य क्षति पुगेको छ भने केही समय राजमार्ग अवरुद्ध भएको थियो ।
हाल अवस्था सामान्य रहेको र बस चालक गौरादह नगरपालिका १ निवासी ३५ वर्षीय संजय नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




