काठमाडौं । हेटौंडा-काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी सडक अब दुईतर्फी रूपमा पुन: सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित सिमखोलामा ह्युमपाइप राखेर सडक मर्मत गरिएकोपछि यातायात दुईतर्फी सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो । अस्थायी मर्मतपछि असोज २० गतेबाट यातायात सञ्चालन भए तापनि थप मर्मतका लागि कात्तिक २ गतेदेखि सडक एकतर्फी मात्र खुला गरिएको थियो । हाल ह्युमपाइप राखेर मर्मत कार्य सम्पन्न भइसकेपछि सडक पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।




