काठमाडौं । काठमाडौंबाट चितवनको कुरिनटारतर्फ जाँदै गरेको एक भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटनाग्रस्त हुँदा ११ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था मध्यम छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
बागमती प्रदेशको ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब सवा १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको महादेवबेसीका सहायक हवल्दार दीपक श्रेष्ठले जानकारी दिए । मनकामना मन्दिर दर्शनका लागि रिजर्भ गरिएको उक्त भ्यानमा यात्रुहरू सवार थिए ।
घाइतेहरूलाई महादेवबेसी प्रहरी र स्थानीय टोलीले उद्धार गरी उपचारका लागि टाइम्स केयर अस्पतालमा पुर्याएको छ । भ्यान दुर्घटनाको कारण खुल्न नसकेपनि अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।




