कैलाली । टीकापुर नगरपालिका ४ का ठेला मजदुरहरू आजकल फुर्सदिला भएका छन् । बीस वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीवनयापन गर्दै आएका स्थानीय मजदुरहरू काम नपाएर निराश छन् ।
कुनै समय भ्याइनभ्याइ काम पाउने मजदुरहरू अहिले खाली हात घर फर्कन बाध्य छन् । उनीहरूले पहिले दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्थे, तर अब इलेक्ट्रिक रिक्साको लोकप्रियताले उनीहरूको व्यापार ओझेलमा परेको छ । “अब हामीलाई विकल्प नहुँदा मात्र बोलाइन्छ,” उनीहरूको गुनासो छ ।
काम नपाएपछि ठेला चलाएर गुजारा गर्न गाह्रो हुँदै गएको र चाडपर्वमा यो समस्या झन् बढ्ने गरेको छ । “दिनभर बजारमा बसेर साँझ रित्तो हात घर फर्कनु पर्दा छोराछोरीले खोज्दा मन थाम्न गाह्रो हुन्छ,” एक मजदुरले सुनाए ।
काम अभावमा ठेला मजदुरहरूले घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम खोज्न थालेका छन् । ठेला चलाएर कुनै बेला मासिक राम्रो आम्दानी गर्ने उनीहरू अहिले विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।
स्थानीय सरकारले उचित मापदण्ड बनाएर ठेला मजदुरहरूको जीविकाका लागि आवश्यक वातावरण बनाउनु पर्ने उनीहरूको माग छ ।




