हेटौंडा । हेटौंडामा एक कारले दुई स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका ५ सानोपोखरा चोकमा भएको यस दुर्घटनामा कारले दुई स्कुटर र एक पैदल यात्रीलाई ठक्कर दिएको हो ।
चौघडाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोही दिशातर्फ आइरहेका ना ६४ प २८३६ नम्बरको स्कुटर, बा प्र ०३–००४६ प ०२५७ नम्बरको स्कुटर तथा पैदल यात्रीलाई ठक्कर दिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटना शुक्रबार दिउँसो १:४५ बजेतिर भएको थियो, जसमा स्कुटर चालक हेटौंडा ५ निवासी ३० वर्षीय नारायण तिमल्सिना, स्कुटर पछाडि सवार २७ वर्षीया अस्मिता सापकोटा, कारमा सवार गोडाइता ५ निवासी २८ वर्षीया रन्जित कुमारी शाह र उनका तीन वर्षीय छोरा कुशल रौनियारसहित पाँच जना घाइते भएका छन् ।
घाइतेहरूलाई हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।




