काठमाडौं । भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहिबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको थियो । शनिबार गाई, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइँदैछ ।
भाइटीका लगाउँदा कुन दिशा फर्किने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ ।
हरेक शुभ कर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ । अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।




