काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भूभागमा बदली रही बाँकी भूभागको मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आज (सोमबार) पहाडी भूभागमा बदली हुनेछ । बागमती र गण्डकी लगायत पहाडी भूभाग तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही, बाँकी पहाडी भूभागका थोरै तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




