काठमाडौं । काठमाडौं उपत्यकामा जघन्य र गम्भीर अपराध अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीहरू नै लुटपाटमा संलग्न रहेको रहस्य खुलेको छ । कलंकीको एक रेस्टुरेन्टमा पुरानो खालको लेदरको पैसा लुटपाटमा प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो । उनीहरूलाई महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
काठमाडौं प्रहरीका अनुसार कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत यी प्रहरी अधिकारीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटेका हुन् । रेस्टुरेन्टमा पुरानो लेदरको पैसासहित पुगेका एक युवकलाई पक्राउ गर्न उनीहरूले बिचौलियालाई हत्कडीसम्म दिएर युवकलाई हत्कडी लगाउन लगाएको खुलासा भएको छ ।
यस क्रममा उनीहरू रेस्टुरेन्ट बाहिर बसेका थिए र पैसा लिएर आएका युवकलाई प्रत्यक्ष देखिएका थिएनन् । लेदरको पैसा लुट्न उनीहरूले २५ लाख रुपैयाँमा बार्गेनिङ गरेको खुलासा भएको छ । तर, लेदरको पैसा लिएपछि पैसा नदिई त्यहाँबाट भागेका थिए । उक्त घटना पछि युवक र बिचौलिया फरार रहेका छन् भने उनीहरूको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।




