काठमाडौं । काभ्रे प्रहरीले अंश विवादमा बुवाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति नमोबुद्ध नगरपालिका ७ का ४४ वर्षीय रामलाल श्रेष्ठ हुन् । आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलनको क्रममा उनलाई सार्वजनिक गरेको हो ।
डीएसपी मिनबहादुर घलेका अनुसार रामलालले आफ्नो ७४ वर्षीय बुवा बलबहादुर श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धानले देखाएअनुसार, कात्तिक ८ गते राति रामलालले अंश नपाएको निहुँमा बुवामाथि आक्रमण गरेका थिए । मुक्का, हँसिया र फलामे गलले बुवाको हत्या गरेको बताइएको छ । यो घटना दुई दिनपछि (कात्तिक १० गते) मात्र सार्वजनिक भएको थियो ।
डीएसपी घलेका अनुसार, अंशको विषयमा विवाद बढेपछि रामलालले बुवासँग झगडा गरेका थिए । बलबहादुरले भाइलाई समेत सँगै राखेर अंशको निर्णय गर्ने बचन दिएपछि विवाद उत्पन्न भएको थियो ।
प्रहरीका अनुसार, विवादको क्रममै रामलालले बुवाको अनुहार र टाउकोमा मुक्काले हिर्काएका थिए । त्यसपछि नजिकै रहेको हँसिया लिएर टाउकोमा चार पाँच पटक प्रहार गरे र ढोकामा राखिएको फलामको गल निकालेर बुवाको टाउकोमा हिर्काए । बलबहादुर ढलेपछि उनले गलले घाँटी थिचेर हत्या गरेका थिए र घटनास्थलबाट भागेका थिए ।
घटनापछि रामलाल कात्तिक २३ गते स्थानीय ढोडेनी वनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । स्थानीयबासीको सहयोगमा काभ्रे प्रहरीले उनलाई पक्राउ गरेको हो । अदालतबाट थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थपिएको डीएसपी घलेले जानकारी दिए ।
कात्तिक १० गते राति करिब १० बजेतिर धारापानीस्थित पुजारी थुम्कामा बलबहादुर श्रेष्ठ आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए । छोरीले शव फेला पारेर काकालाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रहरीले यसअघि पनि रामलालले बुवालाई कुटपिट गरेर घाइते बनाएको तथ्य पत्ता लगाएको छ । रामलाललाई बुवाले खाना बनाएर खुवाउने र हेरचाह गर्दै आएका कारण उनले कारवाही नगर्न प्रहरीसँग आग्रह गरेका थिए ।




