काठमाडौं । कार्तिक शुक्ल एकादशी: सनातन धर्मावलम्बीहरूले मंगलबार हरिबोधिनी एकादशी मनाउँदैछन् । यो दिन भगवान् विष्णुको विशेष पूजा गर्ने र तुलसीको विवाहको विधि सम्पन्न गर्ने धार्मिक महत्त्वको दिन हो ।
सनातन परम्परा अनुसार आषाढ शुक्ल एकादशीमा तुलसीको बिरुवा रोपिन्छ र त्यसपछि चार महिनासम्म श्रद्धासाथ पूजा गरिन्छ । यो अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा ‘विष्णुप्रिया’ तुलसीको विशेष आराधना गरिन्छ र हरिबोधिनी एकादशीको दिन भगवान् विष्णुसँग विवाह गरिदिन्छन् ।
एकादशीको दिन उपवास बस्दै भगवान् नारायणको पूजाआराधना गरिन्छ र भोलिपल्ट द्वादशीमा हवन तथा विसर्जनको परम्परा छ । यस दिन नेपाली समाजमा नयाँ अन्नको होम गर्ने परम्परा पनि रहेको छ ।
पौराणिक कथामा भनिएअनुसार, आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा निद्रामा प्रवेश गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीमा ब्यूँझिन्छन् । यस कारण यस दिनलाई ‘हरिबोधिनी’ भनिन्छ, जहाँ ‘हरि’ विष्णुको नाम हो र ‘बोध’ अर्थ ‘उठ्नु’ हो । यो दिनको विष्णु पूजा विशेष फलदायी मानिन्छ र यसलाई ‘ठूली एकादशी’को रूपमा विशेष महत्व दिइन्छ ।
भगवान् कृष्णले युधिष्ठिरलाई एकादशीको दिन गरिएको स्नान, दान, तप आदि कार्य अक्षय फलदायी हुने कुरा बताएका छन् । पञ्चांग अनुसार, मंगलबार दिउँसो १२:२७ बजे अर्थात् १५ घडी ८ पला सम्म एकादशी रहेको छ ।




