जनकपुरधाम । जलवायु परिवर्तनबाट गम्भीर रूपमा प्रभावित मधेश प्रदेश यस वर्षको कोप सम्मेलनमा प्रतिनिधित्वविहीन रहेको छ । अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि सुरु भएको जलवायु परिवर्तन सम्बन्धी २९ औं कोप सम्मेलनमा सहभागी हुन मधेश प्रदेशले आफ्नो प्रतिनिधि पठाउन सकेन ।
वन तथा वातावरण मन्त्रालयले यस सम्मेलनका लागि मधेश प्रदेशबाट एकजना प्रतिनिधि मनोनयन गर्न मुख्यमन्त्री कार्यालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले तिहारअघि नै पत्र पठाएर प्रतिनिधिलाई आफ्नो खर्चमा सम्मेलनमा सहभागी गराउन आग्रह गरे पनि मुख्यमन्त्री कार्यालयले प्रक्रिया अघि नबढाउँदा मधेश प्रदेशको प्रतिनिधित्व सम्भव भएन ।
मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लोकनाथ पौडेलले मन्त्रालयबाट पत्र प्राप्त भए पनि थप प्रक्रिया अघि नबढेको बताए । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले संघीय सरकारबाट पत्राचार गरिएकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरे पनि मधेश प्रदेश सरकारले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताका लागि बजेट नछुट्याएकाले निजी खर्चमा जाने अन्योलले प्रक्रिया अड्किएको हुन सक्ने बताए ।
आउँदा वर्षमा यस्ता महत्वपूर्ण सम्मेलनमा प्रदेशको तर्फबाट सहभागिता सुनिश्चित गर्न बजेट व्यवस्था आवश्यक रहेको सुझाव उनले दिएका छन् । मधेश सरकारका एक कर्मचारीले प्रमुख सचिवको चासो नहुँदा निजी खर्चमा जान इच्छुक प्रतिनिधिले पनि सहभागिता जनाउन नसकेकोमा गुनासो गरे ।
“मधेश प्रदेश जलवायु परिवर्तनको गम्भीर प्रभावमा छ,” ती कर्मचारीले भने, “निजी खर्चमा जान तयार प्रतिनिधिले प्रदेशको अवस्था विश्वमञ्चमा राख्न सक्थे । तर, चासो नदिँदा यो अवसर गुम्यो ।” संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत कन्फरेन्स अफ पार्टिज (कोप) को २९ औं सम्मेलन नोभेम्बर २२ सम्म बाकुमा जारी रहनेछ ।




