काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक घरभित्र आमा र उनका दुई छोराछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका ३ कुमारी गाम्छामा बसोबास गर्ने कान्छा नगरकोटीको घरभित्र उनकी श्रीमती ३३ वर्षीया सीता दंगाल (नगरकोटी), १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिनाको छोरा मृत भेटिएका हुन् ।
कान्छा नगरकोटीले कात्तिक १६ गतेदेखि श्रीमती र छोराछोरी बेपत्ता भएको भन्दै कात्तिक २९ गते प्रहरी वृत्त बौद्धमा खोज तलासका लागि निवेदन दिएका थिए । सो निवेदनको आधारमा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले घरभित्र तीनै जनाको शव फेला पारेको हो ।
प्रहरी वृत्त बौद्ध र काठमाडौं प्रहरी परिसरबाट थप अनुसन्धानको काम भइरहेको छ । प्रहरीका अनुसार शवहरू कम्तीमा दुई साता पुराना रहेको प्रारम्भिक जाँचमा देखिएको छ । घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीनै शवहरू सडेको अवस्थामा पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले गरिएको स्थलगत परीक्षण, छिमेकीहरूसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा उनीहरूको मृत्यु दुई साता अघि भएको अनुमान गरिएको छ । श्रीमान् कान्छा नगरकोटीले घर बाहिरबाट ताला लागेको अवस्थामा भेटिएकोले श्रीमती कतै गएको होला भन्ने सोचेको बयान दिएका छन् ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, दम्पतीबीच बारम्बार झगडा हुँदै आएको जानकारी छ, जसले गर्दा कहिले श्रीमान् घर छाडेर बाहिर हिँड्ने त कहिले श्रीमती हिँड्ने गर्थिन । पछिल्लो पटक कान्छा कात्तिक १६ गतेदेखि घर बाहिर रहेको जानकारी दिएको प्रहरी स्रोतले जनाएको छ ।




