काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता आइतबारदेखि लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने जिल्लाभित्र आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन सम्पन्न नभएसम्म सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय, अधिकारी तथा विभिन्न संस्थाहरूले आचारसंहिताको पालना गर्नुपर्नेछ ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी, संवैधानिक निकायका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा अन्य सार्वजनिक र निजी निकायका पदाधिकारी र कर्मचारीलाई लागु हुनेछ ।
निर्वाचन हुने क्षेत्रबाहेक अन्य स्थानमा आचारसंहिताले प्रतिबन्ध गरेका कार्य गर्न परेमा आयोगलाई जानकारी दिई स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । आयोगले आचारसंहिताको पालना गर्न सबैलाई आग्रह गर्दै यसको उल्लंघन भएमा सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य तरिकाबाट उजुरी दिन सकिने व्यवस्था गरेको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरिनेछ । बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिनेछ ।
यस पटक दुई जिल्ला समन्वय समितिका प्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख तथा ३४ वडाध्यक्षसहित ४४ रिक्त पदका लागि निर्वाचन हुँदैछ ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको कडाइका साथ पालना गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ ।




