काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । तर, निर्णय ढिलो गरिँदा धेरैजसो कर्मचारी र सेवाग्राहीहरू कार्यालय पुगिसकेको अवस्थामा समस्या उत्पन्न भएको छ ।
ढुंगानाको निधन आइतबार दिउँसो भएपनि बिदा दिने निर्णय सोमबार बिहानमात्रै मन्त्रिपरिषद्को बैठकले गरेको हो । निर्णय सार्वजनिक भएपछि राहदानी विभाग, यातायात कार्यालय र जिल्ला प्रशासन कार्यालयजस्ता सेवामा आउने सेवाग्राहीहरू समस्यामा परेका छन् ।
कतिपय कार्यालयमा कर्मचारीहरू बिहानै कामका लागि उपस्थित भइसकेका थिए भने सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेका थिए । यी कार्यालयहरू प्रायः बिहान नौ बजेदेखि नै व्यस्त हुने भएकाले अचानक बन्द हुँदा सेवाग्राहीले कठिनाइ भोग्नु परेको छ ।
सरकारको ढिलो निर्णयले कर्मचारी र सर्वसाधारणको समय बर्बाद मात्र गरेन कतिपयलाई असुविधा पनि पुर्याएको छ । कार्यालयहरूमा केही घण्टाअघि नै सेवाग्राहीको लाइन लाग्ने हुँदा बिदा घोषणा समयमै नगर्दा यो समस्या बढेको देखिन्छ ।




