काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीय समय अनुसार २२ नोभेम्बर मध्यराति च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक दुर्घटना भएको हो ।
नेपालमदर डटकमका अनुसार दुर्घटनामा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदीको ज्यान गएको छ । दुर्घटनामा परेका अन्य दुई जना कार चालक विजय तामाङ र काठमाडौंका मेहुल श्रेष्ठ जीवित रहेका छन् ।
तामाङ सुरक्षित छन् भने श्रेष्ठ घाइते अवस्थामा उपचाररत छन् । प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गति र अत्यधिक मदिरा सेवन दुर्घटनाको कारण रहेको खुलेको छ । कार चालक विजय तामाङलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
उनीमाथि दुई व्यक्तिको हत्या अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । त्यहाँको प्रहरीद्वारा घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ । एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले पनि घटनाको अनुसन्धानमा स्थानीय निकायहरूसँग समन्वय गरिरहेका छन् ।




