वीरगंज । भारतबाट धान आयात हुन थालेपछि नेपाली धानको मूल्यमा गिरावट आएको छ, जसका कारण नेपाली किसानहरू घाटामा परेका छन् । डेढ महीना अघिसम्म प्रतिक्विन्टल ४,३०० रुपैयाँसम्म रहेको धानको मूल्य अहिले प्रतिक्विन्टल ३,१०० देखि ३,३०० रुपैयाँसम्म झरेको छ ।
मधेसका पर्सा, बारा लगायतका जिल्लामा लगाइने सोना मन्सुली धानको भाउ हाल घटेको छ । धान भण्डारणको सुविधा नभएकाले किसानहरूले तौल घट्ने र कीराको जोखिम हुने डरले सिजनमै सस्तोमा धान बिक्री गर्न बाध्य छन् । गाउँका व्यापारीहरूले धान केही समय भण्डारण गरेर मूल्य बढ्दा ठूला राइसमिलहरूलाई मुनाफासहित बिक्री गर्ने गर्छन् ।
विशेष गरी भारतबाट चामल र धान आयात बढेपछि नेपाली धानको माग घटेको छ । भारतीय धानको मूल्य कम भएकोले व्यापारीहरूले बिहार र उत्तर प्रदेशबाट धान आयात गरिरहेका छन् । भारतले डेढ महीना अघि धान र चामल आयातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपाली बजारमा भारतीय धानको आपूर्ति बढेको हो । भन्सार महसूल १० प्रतिशत तिर्दा पनि भारतीय धान नेपालमा सस्तो पर्न गएको छ ।
व्यवसायीहरूले किसानलाई सोना मन्सुलीको सट्टा कतर्नी र सोनम धान उत्पादन गर्न सुझाव दिएका छन्, जसले उच्च मूल्यमा बिक्री भई मुनाफा बढ्ने बताइएको छ । यस्तै, उत्पादनमा कीराको प्रकोप र मूल्य गिरावटका कारण किसानहरूले दोहोरो समस्याको सामना गरिरहेका छन् ।




