काठमाडौं । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका ३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत लगायत रहेको रामेछाप प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए ।
सुमोमा आठ जना सवार थिए । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको उनले बताए । प्रहरीका अनुसार सुमो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । मृत्यु हुने जनप्रतिनिधि बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।




