बारा । वर्षायाममा सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन सुरक्षा बेस निजगढलाई हारगुहार गर्ने निजगढ नगरपालिका वर्षा सकिएसँगै चुपचाप बसेको देखिन्छ । वर्षामा निजगढस्थित बकैया खोलामा आएको बाढीले खोलाको तटबन्ध कटान गरेपछि विपत् व्यवस्थापनको नाउँमा प्लास्टिकका बोरामा बालुवा भरेर काम टार्ने स्थानीय प्रशासन अहिलेसम्म पनि दिगो कार्यमा अग्रसर भएको छैन ।
बाढीले गर्ने कटानलाई रोक्न प्रारम्भिक अल्पकालीन उपायका रूपमा प्लास्टिकका बोरामा बालुवा भरेर क्षति कम गराउन सकिने उपाय रहेको स्थानीय प्रशासनका अधिकारीहरूले बताएका छन् । तर, प्लास्टिकको बोरामा बालुवा भरेर तत्काल बाढीबाट हुने कटान रोक्न सकिने भएपनि केही महिनामा प्लास्टिकका बोरा कुहिएर बालुवा भर्ने उनीहरूले उल्लेख गरेका छन् ।
बर्सेनि निजगढ नगरपालिकाले करोडौं मूल्यमा खोलाको टेन्डर लगाउँदै आइरहेपनि संरक्षणतर्फ ध्यान नदिंदा तटबन्धका पक्की संरचनाहरू बर्सेनि भत्किंदै बाढी बस्तीमा पस्न सक्ने सम्भावना बढेको छ । खोला ठेक्काको नाउँमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन र दोहनले पुल र आसपासका बस्ती संरक्षणका लागि निर्माण गरिएको पक्की तटबन्ध बर्सेनि भत्किरहेको छ ।
वार्षिक ८/१० करोडमा खोला ठेक्का लाग्ने गरेपनि खोला संरक्षणमा नगरपालिकाले चासो नदेखाउँदा बाढी प्रभावित क्षेत्रका स्थानीयहरूले नगरपालिकाको आलोचना गर्दै आएका छन् । खोला उत्खनन, दोहन कार्यमा नगरपालिकाले मौन बस्दा बर्सेनि वर्षामा क्षति भइरहेको छ । यस वर्षको बाढीले वडा नं. ९ स्थित आर्यघाट समेत कटान गरेको छ ।
सो स्थानमा विगतमा संरक्षणका लागि लगाइएका तारजाली बाढीले बगाउँदा कटानको समस्या आइलागेको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग चार लेन सडक विस्तारसँगै बकैया पुल निर्माण हुने क्रममा भत्किएको पक्की तटबन्ध पुनर्निर्माण हुने आशा गरिएको छ । तीन वर्षयताबाट भने सम्बन्धित निकायका प्राविधिक टोलीले सरकारी बजेट मात्रै खर्च गरेको स्थानीय प्रशासनका अधिकारीहरूले बताएका छन् ।
कोल्हवी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने बकैया खोलाको बर्सेनि ठेक्का लगाउँदै आएको छ । खोला ठेक्काका नाममा मापदण्ड विपरीत उत्खनन र दोहन हुँदा यसको असर निजगढस्थित बकैया पुल, तटबन्ध लगायतका संरचनामा पर्दै आएको छ । स्थानीय पालिकाहरूले खोला ठेक्का लगाउन पाउने कानूनी अधिकार रहेपनि संरक्षणमा ध्यान दिन जरुरी रहेको छ ।




