सप्तरी । सप्तरीको राजविराजमा ग्राहक बनेर पसल पुगेका एक व्यक्ति बियरको कार्टुन लिएर फरार भएका छन् । शुक्रबार साँझ राजविराज नगरपालिका ४ स्थित मुख्य बजार क्षेत्र मेनरोडमा रहेको गोपाल कोल्ड स्टोरबाट ४ हजार २०० रुपैयाँ मूल्यको एक कार्टुन बियर लिएर ती व्यक्ति फरार भएका हुन् ।
पसल सञ्चालक गोपाल स्वर्णकारका अनुसार मोटरसाइकलमा आएका ती व्यक्तिले बियरको एक कार्टुन किनेपछि मोटरसाइकलको पछाडि बाँधेर ल्याउने भन्दै पसलबाट डोरी मागेका थिए । बियरको कार्टुन डोरीले बाँधिसकेपछि पैसा तिर्न र पसल फर्किनुको सट्टा उनी मोटरसाइकल चढेर भागेको स्वर्णकारले बताए ।
घटना शुक्रबार साँझ करिब ७ बजेको हो । ती व्यक्ति बियर लिएर भागेपछि पसल सञ्चालकले गुहार मागेका थिए । त्यसपछि आसपासका केही पसलेले मोटरसाइकलमा उनको पिछा गरेपनि उनलाई नियन्त्रणमा लिन सकेनन् ।
स्थानीय औषधि पसल सञ्चालक खेलानन्द दासका अनुसार बियर लिएर फरार भएका व्यक्तिको अनुहार पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ । तर, मोटरसाइकलको नम्बर भने स्पष्ट रूपमा कैद हुन नसकेको उनले बताए ।
सम्बद्ध व्यवसायीका अनुसार ती व्यक्ति यसअघि पनि ग्राहक बनेर राजविराजकै न्यू कञ्चन ट्रेडर्स र बद्री कोल्ड स्टोरमा पुगेका थिए । ती पसलेहरू सतर्क रहेकाले त्यहाँ उनको योजना सफल हुन नसकेको बताइएको छ ।
घटना जिल्ला प्रहरी कार्यालय सप्तरीबाट करिब सय मिटरको दूरीमा रहेको मुख्य बजार क्षेत्रमै भएको हो । पछिल्लो घटनाले ग्राहकको भेषमा पसलमा पुगेर सामान लिएर फरार हुने प्रवृत्तिप्रति व्यवसायीलाई थप सतर्क रहनुपर्ने देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको सीसीटीभी फुटेजको अध्ययन गरिरहेको जनाएको छ । फुटेजमा देखिएको हुलियाका आधारमा फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य अघि बढाएको जनाएको छ ।




