सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित प्रसिद्ध हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मन्दिर परिसरबाटै १६ र १३ वर्षका दुई किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार आइतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त हुना साथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिरमा रहेको हनुमानजीको मूर्तिमा चढाइएका चाँदीका मुकुट, माला, टीका तथा अनुहारमा लगाइने विभिन्न चाँदीका गरगहना र दानपेटिकामा रहेको नगद रकम चोरी भएको खुलेको छ । चोरी भएका गहना तथा रकमको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कानुनी प्रावधानअनुसार पक्राउ परेका दुवै नाबालकको पहिचान गोप्य राखिएको छ । उनीहरू यसअघि पनि चोरी घटनामै संलग्न भएर बाल सुधारगृहमा बसेर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, मन्दिरमा भएको चोरीको घटनालाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने खालका गतिविधि नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।




