नुवाकोट । किस्पाङ गाउँपालिका १ भाल्चेबेँसीमा मंगलबार टिपरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । टिपरको ठक्करले किस्पाङ ४ साल्मेका ४८ वर्षीय टासी घलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको बागमती प्रदेश ३–०१–००३ क ७१८७ नम्बरको टिपरले घलेलाई ठक्कर दिएको थियो । घटनापछि स्थानीयले टिपरमा क्षति पुर्याएका छन् भने चालक फरार भएका कारण उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दोषी चालकको पक्राउ र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै स्थानीयले शव उठाउन अवरोध गरेका थिए । साँझ ८ बजे स्थानीय प्रशासन र पीडित पक्षबीच दोषीलाई कारबाही र उचित क्षतिपूर्तिका लागि कानूनी प्रक्रिया अघि बढाउने सहमतिपछि शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




