बारा । डिभिजन वन कार्यालय, सिमराको हाताभित्र रहेका करोडौं मूल्य बराबरका सालका गोलिया, चिरान काठ र विभिन्न सवारीसाधन संरक्षण अभावमा जीर्ण अवस्थामा पुगेका छन् ।
न्यायालय र वन कार्यालयको ढिलासुस्तीका कारण काठ तस्करीका घटनामा नियन्त्रणमा लिएका सामग्रीहरू १० वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि राखिएका छन् । वर्षा र घामका कारण काठ र सवारी साधनहरू नष्ट हुने अवस्थामा पुगेका हुन् ।
डिभिजन वन कार्यालयका अनुसार विभिन्न समयमा नियन्त्रणमा लिएका काठ र सवारी साधनहरूको कारबाई प्रक्रिया अझै न्यायालयमा विचाराधीन रहेकाले समस्या उत्पन्न भएको हो ।
कार्यालयले कारबाई पूरा भएका काठ र साधनलाई लिलामी प्रक्रियामा लैजाने योजना रहेको जनाएको छ । स्थानियले ढिलासुस्तीका कारण सरकारी सम्पत्तिको दुरुपयोग र नष्ट भइरहेकाले यसतर्फ ध्यान दिँदै शीघ्र लिलामी प्रक्रिया सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।




