जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले विगत दुई आर्थिक वर्षमा मधेस प्रदेशका आठ जिल्लाबाट परेका ८,५२९ उजुरीमध्ये ६,४७२ उजुरी फर्छ्योट गरेको छ ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्राप्त उजुरीहरूमध्ये सबैभन्दा धेरै धनुषा जिल्लाबाट दर्ता भएका थिए । धनुषाबाट परेका १,४२२ उजुरीहरूमध्ये १,०५६ उजुरी फर्छ्योट भएका छन् ।
त्यसैगरी, बाराबाट परेका १,२०७ उजुरीमध्ये ८८७, सप्तरीबाट १,१७० मध्ये ९७१, रौतहटबाट १,०३५ मध्ये ७३४, महोत्तरीबाट १,०२२ उजुरीमध्ये ८३४ उजुरी फर्छ्योट भएका छन् ।
पर्सा जिल्लामा ९५६ उजुरी परेकामा ६९१, सिरहामा ८८१ मध्ये ६८७ र सर्लाहीमा ८३६ उजुरी परेकामा ६४२ फर्छ्योट गरिएको अख्तियार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्राप्त उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।




