काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका १२ घर भएकी कमला आचार्यले शनिबार दिउँसो १२ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
घटनास्थल नजिकै उनको सुसाइड नोट भेटिएको छ । उनले सुसाइड नोटमा आफ्ना श्रीमान र छोराहरूसँगको सम्बन्ध र उनीहरूलाई दिएको दुःखका कारण आत्मदाहको निर्णय लिएको कुरा लेखेकी छिन् । सुसाइड नोटमा भनिएको छ, ‘म कसैलाई दु:ख दिन चाहन्न, श्रीमान् र छोराहरू खुसीसाथ बस्नु ।’
घटनाको अनुसन्धान गर्दा, महिलाले आफ्ना श्रीमानसँग कुराकानी गरिरहेकी थिइन् र ११ः१२ बजेसम्म च्याट पनि गरेकी थिइन् । पेट्रोल छर्केर आत्मदाह गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् भने अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ५:४५ बजे मृत्यु भएको थियो । उनका १३ र ३ वर्षका दुई छोराहरू रहेका छन् ।




