वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १६ ईनर्वा र विभिन्न नाकाबाट १३ लाख ३६ हजार ९३५ रुपैयाँ बराबरको अवैध सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट ना ५३ प ९३०६ नम्बरको मोटरसाइकलमा राखेर र अन्य यात्रुवाहक सवारी साधनमा लुकाएर ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटर पार्ट्स, की-प्याड मोबाइल, मोबाइल एसेसरिज र लत्ता कपडा बरामद गरिएको सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो ।
सामान ल्याउने व्यक्तिहरू भने सामान छोडेर फरार भएका छन् । बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले बताए ।




