झापा । झापामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पहिलो दुर्घटना दमक नगरपालिका १०, सेतुमारी चोकस्थित सडकमा आइतबार राति भएको हो ।
प्रदेश १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौरादह नगरपालिका ५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि बचाउन सकिएको थिएन । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ ।
दोस्रो दुर्घटना शिवसताक्षी नगरपालिका १०, किराँत चोकस्थित सडकमा रोकी राखिएको को २ त ४१४५ नम्बरको ट्याक्टरमा मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको हो ।
दुर्घटनामा मेची नगरपालिका ५ का ४२ वर्षीय सन्तोष कुमार लिम्बुको मृत्यु भएको छ । गम्भीर घाइते लिम्बुको बिएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
यस दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।




