सप्तरी । सप्तरी जिल्लाको राजगढ गाउँपालिका २, बनिनियास्थित कुलोमा भारत, दरभंगा ग्राम पंचायत सयामपुरका ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् । स्थानीय बासिन्दाले कुलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शवको पहिचान भारतको दरभंगा निवासी श्रीकान्त लाल देवको रूपमा गरिएको हो ।
शव फेला परेको क्षेत्र नजिकै भारतसँगको सीमा क्षेत्र भएकाले घटना भारतीय नागरिकसँग सम्बन्धित भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा कुनै गम्भीर चोट पटक नदेखिएको र घटनाको कारण स्पष्ट भइसकेको छैन । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित जिल्ला अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण थाहा हुने प्रहरीले जनाएको छ ।
यस घटना बारे स्थानीय प्रशासनले भारतीय पक्षसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको छ । कुलोमा शव कसरी पुग्यो र घटनाका पछाडि कुनै आपराधिक गतिविधि छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको छ । स्थानीयबासीले सीमा क्षेत्रमा सुरक्षाको कमजोर व्यवस्थाका कारण यस्ता घटना पटक पटक हुने गरेको गुनासो गरेका छन् । प्रहरीले यस घटना बारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।




