सप्तरी । सप्तरीमा बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्म चार सय पन्ध्र बोरा रासायनिक मल जफत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार, जफत गरिएको मल सरकारी अनुदान अन्तर्गत साल्ट ट्रेडिङको रहेको छ ।
पुस ३ गते बुधबार, टोलीले बोदेबरसाइन नगरपालिका ५ मा रहेको माँ डाक्नेश्वरी ट्रेडर्समा छापामारी ५६ बोरा मल जफत गरेको हो । उक्त ट्रेडर्सले कालोबजारीमार्फत मल बिक्री गरिरहेको पाइएको यादवले बताए ।
मङ्सिर १९ गते डाक्नेश्वरी नगरपालिका ९ मा रहेको आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट २२० बोरा र मङ्सिर २६ गते हनुमाननगर कंकालिनी नगरपालिका ७ का सत्यनारायण यादवको घरबाट १३९ बोरा मल जफत गरिएको थियो ।
पक्राउ परेनन् संलग्न व्यक्ति
जफत गरिएको समयमा सम्बन्धित व्यक्तिहरू नभेटिएकाले कोही पनि पक्राउ नपरेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । जफत गरिएको मल बिना बिल र बीजकको कारोबार हुँदै आएको पाइएको छ ।
कालोबजारीमा संलग्न चार संस्थालाई जरिवाना
बजार अनुगमनका क्रममा नियमविपरीत कारोबार गरिरहेका चार संस्थालाई जरिवाना समेत गरिएको छ ।
– हनुमाननगर कङ्कालिनी नगरपालिका ९ मा रहेको नर्सिङ कृषि संस्था लिमिटेड
– जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड
– हंस उपभोक्ता संस्था लिमिटेड
– कृति ट्रेडर्स, राजविराज
नर्सिङ कृषि संस्था, जयबाबा गणिनाथ र हंस उपभोक्ता संस्थालाई पाँच हजार रुपैयाँ, तथा कृति ट्रेडर्सलाई बीस हजार रुपैयाँ जरिवाना गरिएको यादवले बताए । सप्तरीमा कालोबजारी र अनियमितताको क्रम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अनुगमनलाई अझै कडा पार्ने तयारी गरेको छ ।




