महोत्तरी । स्थानीय सरकार गठन भएको सात वर्षपछि महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नयाँ युगको थालनी भएको छ । बर्दिवास नगरपालिकाले अघिल्लो स्थानीय सरकारले सात वर्षअघि सम्झौता गरेको “फोहोरलाई मोहोर” अभियान अन्तर्गत फोहोर पुनः प्रशोधन कार्य औपचारिक रूपमा सुरु गरेको हो ।
हिटा हेभी मेसिनरी रिसाइकल कम्पनीको नेतृत्वमा काम सुरु बर्दिवास नगरपालिकाले हिटा हेभी मेसिनरी रिसाइकल कम्पनीसँग सहकार्य गरी दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना गरेको छ ।
कम्पनीका निर्देशक सुरेन्द्र साहका अनुसार, हाल बर्दिवास नगर क्षेत्रबाट दैनिक ३/४ टन फोहोर उत्पादन हुँदै आएको छ । प्रारम्भिक चरणमा यो मेसिन पर्याप्त हुने भएपनि भविष्यमा थप पालिकासँग सहकार्य गरेर ठूलो इन्सिनेटर स्थापना गरिनेछ ।
खरानीलाई मलको रूपमा प्रयोग
इन्सिनेटरबाट निस्कने खरानीलाई मलको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो मलले कृषकहरूलाई लाभ पुर्याउनुका साथै हरित बर्दिवास निर्माणमा योगदान गर्ने विश्वास छ ।
२० वर्षे सम्झौता र नगरपालिका आम्दानी
नगरपालिकासँगको सम्झौता अनुसार, कम्पनीले कुल आम्दानीको १२ प्रतिशत मुनाफा नगरपालिकालाई हस्तान्तरण गर्नेछ । सागरनाथ वन परियोजनाको जंगलभित्रको डम्पिङ साइटको आलोचनाबीच नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पुरानो सम्झौतालाई कार्यान्वयनमा ल्याउँदै सफा र सुन्दर बर्दिवासको अभियानलाई अगाडि बढाएका छन् ।
प्रशोधन केन्द्र र थप संरचनाहरू
बर्दिवासको मोडल एग्रो भिलेज नजिकै ३ विगाह क्षेत्रफलमा रहेको प्रशोधन केन्द्रमा इन्सिनेटरसँगै कम्प्रेसर मेसिन, सेग्रीकेटर मेसिन, कम्पोष्ट स्टोरेज चेम्बर र ठूलो इन्सिनेटर स्थापना गरिनेछ । यी संरचनाबाट कम्पोष्ट मल, अण्डा राख्ने क्रेट र रिसाइकलका सामग्री उत्पादन गरिने योजना छ ।
दैनिक २० टन फोहोर व्यवस्थापनको लक्ष्य
थप संरचनाहरूको स्थापना पछि कम्पनीले दैनिक २० टन फोहोर विसर्जन गर्ने र त्यसबाट आम्दानी गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख क्षेत्रीले अघिल्लो स्थानीय सरकारले गरेको सम्झौताका केही बुँदाहरू संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
महत्वपूर्ण कोशेढुंगा
नगरप्रमुख क्षेत्रीले यो अभियानले बर्दिवासलाई सफा, सुन्दर र हरित नगर बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे । “फोहोरलाई मोहोरमा बदल्ने यो अभियान बर्दिवासको फोहोर व्यवस्थापनमा महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ,” उनले भने ।




