वीरगञ्ज । गण्डक नहरमा रहेको भासिएको पुलबाट दैनिक जोखिम मोलेर हजारौं सर्वसाधारण र यात्रुहरू आवतजावत गर्न बाध्य भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने तिलावे नदीमाथि बनेको यो पुल भदौमा सामान्य बाढीका कारण भासिएको थियो ।
भासिएको पिल्लरका कारण पुल क्षतिग्रस्त अवस्थामा रहेको छ । पुल कुनै पनि बेला टुट्न सक्ने खतरापूर्ण अवस्थामा भएपनि स्थानीय बासिन्दा र यात्रुहरू पैदल, साइकल, मोटरसाइकल प्रयोग गर्दै आवतजावत गरिरहेका छन् ।
बैकल्पिक बाटो भएपनि जोखिमयुक्त पुल प्रयोग
पुल क्षतिग्रस्त भएपछि नदीमाथि ह्युम पाइप राखी माटो भरिएको डाइभर्सन निर्माण गरिएको छ । डाइभर्सनबाट गाडी ओहोरदोहोर भइरहेको भएपनि यात्रुहरूले जोखिम मोलेर पुरानै पुल प्रयोग गरिरहेका छन् । डाइभर्सनबाट ठूलो गाडीहरूको चाप बढ्दा स्थानीय कृषकहरू खेतमा पुग्न लामो दूरीको बाटो प्रयोग गर्न बाध्य छन् ।
मर्मतको पहल नगर्ने जनप्रतिनिधिहरू प्रति स्थानीयको आक्रोश
पचास वर्ष पुरानो यो पुलमा मर्मतसम्भार नहुँदा पिल्लर भासिएको हो । पुल क्षतिग्रस्त भएपछि जनप्रतिनिधिहरू निरीक्षण गर्न मात्र आउने र पुल मर्मतका लागि कुनै ठोस पहल नगरेको स्थानीयको गुनासो छ ।
सिंचाइ विभागबाट टोली आएर निरीक्षण गरेको र पुल मर्मत तथा पुनर्निर्माण बारे निर्णय प्रक्रिया अघि बढिरहेको बताइएको छ । गण्डक नहरको तिलावे नदीमाथिको यो पुल १९७५/७६ मा निर्माण सम्पन्न गरिएको थियो ।
नहर पर्सा, बारा र रौतहट हुँदै ८१ किलोमिटर क्षेत्रमा फैलिएको छ । नहरमार्फत धान र गहुँ बालीका लागि भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी छोड्नु पर्ने प्रावधान रहेको छ ।
नयाँ पुल निर्माणको माग
क्षतिग्रस्त पुलले ठूलो दुर्घटनाको सम्भावना बढाएका कारण स्थानीयले तुरुन्त नयाँ पुल निर्माणको माग गरेका छन् । हालसम्म यस विषयमा ठोस निर्णय नहुँदा जोखिमयुक्त आवतजावत यथावत छ ।




