भक्तपुर । खोटाङ जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटस्थित भाडाको घरमा सोमबार मृत फेला परेका छन् ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार आचार्य मंसिर २८ गते बिदा लिएर भक्तपुर गएका थिए । प्रहरीका अनुसार बाबुछोरा बसिरहेको कोठा बाहिरबाट चाबी लगाएको अवस्थामा फेला परेको छ । शवमा चोट पटक देखिएकोले घटना शङ्कास्पद रहेको अनुमान गरिएको छ ।
मृतक कुलप्रसाद आचार्य पाँच दिनअघि मात्रै खोटाङबाट भक्तपुरमा जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण आचार्यसँग बस्न पुगेका थिए । सोमबार बिहान घर बाहिरबाट ताला लगाइएको अवस्थामा बाबु–छोराको शव फेला परेको र सँगै रहेका जेठा छोरा मिलन आचार्य सम्पर्कविहीन भएकोले घटनाले थप रहस्यमय मोड लिएको छ ।
मृतकका आफन्त गोपाल आचार्यका अनुसार, गए राति तीन जनाले सँगै खाना खाएर सुतेका थिए । बिहान भने दुई वटा ढोकामा ताला लगाइएको अवस्थामा कुलप्रसाद र प्रवीणको शव भेटिएको थियो ।
प्रहरीले शवको परीक्षणका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ । घटनामा हत्या हुन सक्ने आशंका गर्दै अनुसन्धान अघि बढाइएको छ । साथै, सम्पर्कविहीन भएका जेठा छोरा मिलन आचार्यको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय खोटाङले निमित्त कार्यालय प्रमुख आचार्यको मृत्युका कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




