सर्लाही । बसबरिया गाउँपालिका ३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा कलेजोको क्यान्सरका कारण निधन भएको छ । चितवनको भरतपुरमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो । महतोले भारतको दिल्लीमा क्यान्सर उपचार गराएर घर फर्किए पनि स्वास्थ्य समस्या पुन: जटिल बनेपछि एक महिनाअघि भरतपुरमा भर्ना गरिएको थियो ।
२०७२ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट लगातार दुई पटक वडाध्यक्ष पदमा निर्वाचित महतो २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष भएका थिए । आफ्नो लामो राजनीतिक यात्रा र सेवाका कारण उनी स्थानीय समुदायमा लोकप्रिय थिए ।
महतोको शव आज बिहान भरतपुरबाट गृह नगर ल्याइएको छ । उनको अन्तिम संस्कारको तयारी भइरहेको छ । वडाध्यक्ष महतोको निधन प्रति श्रद्धाञ्जली अर्पण गर्न बसबरिया गाउँपालिकाले आज बिहीबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष राम सिंहासन रायका अनुसार, गाउँपालिका मातहतका कार्यालय, विद्यालय र स्वास्थ्य संस्था आज पूर्ण रूपमा बन्द रहनेछन् । महतोको निधनले सर्लाहीको राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको महसुस गरिएको छ ।




