रोल्पा । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
बुढाथोकीले सवारी साधनलाई आवतजावत गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारको बुटवल कार्यालय अन्तर्गतको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारका अनुसार बुढाथोकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गत कसुर गरेको पाइएको छ । यसै आधारमा अख्तियारले बिगो २५ हजार रुपैयाँ कायम गरी कैद सजाय र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारविरुद्ध कडाइका साथ कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।




