रौतहट । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको गरुडा नगरपालिका कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार विरोध प्रदर्शन गर्दै नगरपालिका भवन, मेयरको सरकारी गाडी र अन्य एक दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेका हुन् ।
विद्यार्थीहरूको आक्रमणबाट मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा ठूलो क्षति पुगेको छ । सरकारी गाडीको सबै सिसा फुटेका छन् भने अन्य भागमा पनि क्षति भएको छ ।
त्यस्तै, कार्यालयमा काम गराउन आएका सेवाग्राहीहरूको १ दर्जनभन्दा बढी मोटरसाइकल विद्यार्थीहरूको तोडफोडको शिकार बनेका छन् । विद्यार्थीहरू नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई मावि झाँझपुलमा सरुवा गरिएको विरोधमा आक्रोशित थिए ।
उनीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले घटनाको जानकारी लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । यसरी तोडफोड गर्ने माथि कानूनी कारबाही गर्ने तयारी गरिएको छ ।




