रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा खटिएका प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्री भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तिर्ने सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार पीडित राहत कोषमा ६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनु पर्ने निर्णयसहित सजायको फैसला गरेको हो ।
क्षेत्रीले रुपन्देहीको भगवानपुर नाका हुँदै घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेपछि अनुसन्धान गरी यसै वर्ष २६ भदौमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको यो फैसलासँगै क्षेत्रीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।




