उदयपुर । उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित सडकमा शनिबार दिउँसो मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक र ट्रकमा सवार अर्का व्यक्ति घाइते भएका छन् ।
काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५७४९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सहचालक, सुनसरी इटहरी उपमहानगरपालिका २ का २४ वर्षीय सुदिप राई गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक पनि घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै ट्रकमा सवार अर्का घाइतेलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । प्रहरीले दुर्घटनाको कारण बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




