जनकपुर । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का विद्यार्थी परीक्षा केन्द्र परिवर्तनको विरोधमा आन्दोलित भएका छन् । बुधबारदेखि सुरू हुने स्नातक तहको परीक्षा फरक-फरक क्याम्पसमा सञ्चालन गर्न लागिएको भन्दै विद्यार्थीहरूले मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले क्याम्पस प्रशासन शाखाको ढोका, झ्याल र सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र रहेको काठका सामग्रीमा आगजनी गरेका छन् । विद्यार्थीहरूले यसअघि राराब क्याम्पसको परीक्षा केन्द्र अन्यत्र नराखिएको दाबी गर्दै यस पटक नियोजित रूपमा निजी क्याम्पसका सञ्चालकहरूको मिलेमतो र आर्थिक चलखेलका कारण ९ सय विद्यार्थीबाहेक अरू सबैको परीक्षा केन्द्र अन्य क्याम्पसमा तोकिएको आरोप लगाएका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले परीक्षा केन्द्रको निर्णय तत्काल नसच्चाए बुधबार मधेश प्रदेशभर स्नातक तहको परीक्षा हुन नदिने चेतावनीसमेत दिएका छन् । प्रदर्शनका क्रममा क्याम्पस प्रशासनले भने विद्यार्थीहरूको मागका विषयमा छलफल भइरहेको जनाएको छ ।




