जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गत जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुस २५ बाट चिकित्साशास्त्रतर्फ स्नातक तह (एमबीबीएस) पठनपाठन सुरू हुने भएको छ । प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, उपकरण व्यवस्थापन र विशिष्टीकृत ल्याबको निर्माण गरिसकेको छ । विभिन्न विषयका लागि जनशक्ति व्यवस्थापन भइसकेको र कक्षा सञ्चालनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिइएको छ ।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा सिफारिस गरेका विद्यार्थीहरूको भर्ना प्रक्रिया पनि सम्पन्न भइसकेको छ । प्रदेश सरकारको पहलमा सरकारी स्तरमा एमबीबीएस पठनपाठन गराउने यो प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । इच्छुक विद्यार्थीहरूका लागि पुस २४ सम्म नामांकन खुला गरिएको छ ।
प्रतिष्ठानमा हाल नर्सिङ, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजीजस्ता स्नातक कार्यक्रम र चिकित्साशास्त्रका स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । एमबीबीएस कक्षा सञ्चालनका लागि अस्पतालको स्तरोन्नति, सेवा विस्तार र जनशक्ति व्यवस्थापनजस्ता तयारीहरू गत साउनदेखि नै सुरु गरिएका थिए ।
गत भदौमा चिकित्सा शिक्षा आयोगले ५० विद्यार्थीको कोटा स्वीकृत गरेपछि एमबीबीएस पठनपाठनको प्रक्रिया अघि बढाइएको हो । प्रतिष्ठानमा कक्षा कोठा, छात्रावास र क्लिनिकल अध्ययनका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ ।
मधेशमा एमबीबीएस पठनपाठन सुरु भएपछि चिकित्सा सेवामा सुधार, चिकित्सकहरूको वृत्ति विकासमा टेवा र जनकपुरधामको शैक्षिक छविमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।




