बर्दिवास । बर्दिवास ११ स्थित निर्मलामा बहु प्राविधिक शिक्षालयका तीन छात्राले सामूहिक रूपमा विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार सिरहा धनगढीकी १७ वर्षीया एक छात्राको मृत्यु भएको हो ।
उनी मंगलबार बिहान बर्दिवास ४ स्थित जङ्गली क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालयले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे । घटनामा संलग्न अन्य दुई छात्राको बर्दिवासस्थित अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार उनीहरूको अवस्था मध्यम छ । शिक्षालयका प्रशासकीय अधिकारीले विष सेवन गर्ने तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार मृतक छात्राले हालैको टेस्ट परीक्षामा एक विषय बिग्रिएको कारण पीडामा विष सेवन गरेको बताइएको छ ।
सोमबार बिदाको दिन तीन छात्रा गाइड किन्न बर्दिवास बजार गएका थिए । गाइडसँगै मृतकले विष पनि किनेको र जङ्गली क्षेत्रमा पुगेर विष सेवन गरेको अनुसन्धानबाट खुलेको छ । मृतकले अरु दुईलाई पनि विष सेवन गर्न दबाब दिएको प्रारम्भिक बयानबाट थाहा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




