वीरगंज । पर्सा स्थित मेन्टेनेन्स नापी शाखा कार्यालयमा मंगलबार एक जना अमिनमाथि कुटपिट भएको छ । शुभलाभ लेखापढी च्याम्बरका व्यवसायी ओमप्रकाश यादवले फाट नं ३ का अमिनमाथि कुटपिट र दुव्यवहार गरेका हुन् ।
घटना कार्यालय समय दिउँसो १ बजे भएको हो । प्रत्यक्षदर्शीका अनुसार, कार्यालयमा काम गरिरहेको अवस्थामा यादवले अमिन धीरेन्द्र जयसवालको कठालो समातेर थप्पड हानेका थिए ।
कुटपिटको कारण वीरगंज १६, नगवाका मदनप्रसाद गुप्ताको जग्गा नापजाँचको क्रममा भएको विवाद रहेको बताइएको छ । शुभलाभ लेखापढी च्याम्बरका यादवले जग्गा नापजाँचमा आलटाल गरिएको भन्दै विवाद उत्पन्न भएको र त्यस क्रममा झगडा भएको बताएका छन् ।
घटनापछि मेन्टेनेन्स नापी शाखाका प्रमुख राकेशकुमार झाले घटनालाई निन्दनीय भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बताए । कानूनी प्रक्रिया बारे छलफल गर्न बुधबार बिहान १० बजे बैठक बस्ने जानकारी उनले दिए ।




