जनकपुरधाम । मधेस प्रदेशका विभिन्न स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा धर्ना दिँदै उनीहरूले तत्काल समस्या समाधानको माग गरेका छन् ।
स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, र प्रशासन समूहका १६० जना कर्मचारीले कार्यालयको काम छोडेर धर्ना दिएका हुन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार पटक पटक लिखित र मौखिक रूपमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।
एक वर्षअघि संघीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेस प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू हालसम्म कामविहीन छन् । यसले उनीहरूलाई सेवा सुविधा पाउन कठिनाइ भइरहेको छ ।
देशव्यापी आन्दोलनको चेतावनी
स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले प्रदेश सरकारले छिटोभन्दा छिटो पदस्थापनाको व्यवस्था नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनका अनुसार अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीको पदस्थापना भइसकेको भए पनि मधेस प्रदेशका कर्मचारीहरू पदस्थापना बिनै रहेका छन् ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइयो
आन्दोलन गर्नुअघि कर्मचारीहरूले मुख्यमन्त्रीलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै पदस्थापनाको प्रक्रिया तत्काल अघि बढाउन माग गरेका थिए । मधेस प्रदेशमा एक हजारभन्दा बढी कर्मचारी कार्यरत रहे पनि पदस्थापनाको समस्या समाधान नभएकाले उनीहरूको असन्तोष बढेको छ । आन्दोलनरत कर्मचारीहरूले समस्या समाधान नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।




