सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तियामा अवस्थित ऐतिहासिक मुक्तेश्वर महादेव मन्दिर पुनर्निर्माणपछि स्थानीय तथा पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा पुराना कलाकृति, इँटा, ढुङ्गा लगायतका भग्नावशेषहरू रहेको पाइएको छ । यी भग्नावशेषले मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् ।
मन्दिर पुनर्निर्माणसँगै यसको प्राचीन महत्वलाई पुनर्जीवित गर्न प्रयास गरिएको छ । स्थानीय बासिन्दाका अनुसार, मन्दिर धार्मिक आस्थाको केन्द्रमात्र नभई सांस्कृतिक सम्पदाको महत्वपूर्ण धरोहर पनि हो ।
मन्दिरको पुनर्निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । स्थानीय सरकार तथा पुरातत्व विभागको सहकार्यले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको छ ।
मुक्तेश्वर महादेव मन्दिरको पुनर्निर्माणले यसको पुरानो महत्व जोगाउनुका साथै स्थानीय समुदायलाई आर्थिक र सामाजिक रूपमा लाभ दिलाउने विश्वास गरिएको छ ।




