सर्लाही । सर्लाही जिल्लाको रमनगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली प्रहार गरेको छ । झडप मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा भएको हो ।
इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको नेतृत्वमा मापसे चेकजाँच भइरहेको बेला विवाद सुरु भएको थियो । प्रहरीले जनाएअनुसार, मापसेमा परेका केही युवाहरूले झगडा गर्न थालेपछि अवस्था थप तनावपूर्ण बन्यो ।
स्थिति झनै बिग्रँदै जाँदा वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा करिब १५० जनाको समूह प्रहरी चौकी घेराउ गर्न आइपुगेको थियो । प्रहरीका अनुसार, वडाध्यक्ष यादव स्वयंले मादक पदार्थ सेवन गरेको अवस्थामा घटनास्थल पुगेका थिए ।
स्थानीय समूहले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि पाँच राउन्ड गोली चलाएको बताएको छ । झडपका क्रममा केही स्थानीय र एकजना प्रहरी घाइते भएका छन् ।
प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको र उनलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले झडपपछि अवस्था नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । झडपले स्थानीय क्षेत्रमा केही समय तनावको स्थिति सिर्जना गरेको भएपनि हाल स्थिति सामान्य रहेको बताइएको छ ।




