रौतहट । रौतहट जिल्ला प्रहरी कार्यालयको टोलीले अवैध रूपमा सञ्चालित मदिरा उत्पादन केन्द्रमा छापा मार्दै ठूलो मात्रामा मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ ।
शनिबार गौर नगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा सञ्चालनमा रहेका तीनवटा रक्सी भट्टीमा छापा मार्दा ७ सय लिटर तयारी मदिरा र २८ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए ।
साथै, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन, सिल्भर डेक्ची, स्टिल बाल्टिन, ग्यास सिलिन्डर, ग्यास चुलो, प्लास्टिक ग्यालन र बाल्टिनसहित विभिन्न सामग्रीहरू बरामद गरिएको छ ।
बरामद सामग्री र मदिराजन्य पदार्थहरू स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरिएको प्रहरीको सूचनामा उल्लेख छ ।
अवैध मदिरा उत्पादन र व्यापारविरुद्ध सशक्त रूपमा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै प्रहरीले यो कारबाहीले जिल्लामा अवैध मदिरा उत्पादन रोक्न सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।




